अहिलेको अवस्थामा टिकटक बन्द गरिनु आवश्यक थियो र गरियो पनि ! सरकारको यो निर्णय एकदमै स्वागतयोग्य र सराहनीय छ । सरकार भनेको हाम्रो अभिभावक हो ! समाज सुधारक हो । संवैधानिक र कानूनी दायित्व कार्यान्वयनको अभिभारा बोकेको सरकारले आफ्ना नागरिकको व्यवहार र कार्यशैलीप्रति पनि उत्तिकै चासो र चिन्ता व्यक्त गर्नुपर्छ ।
सामाजिक रीती संस्कृति, सभ्यता र संस्कार बिनाको मानवीय जीवन अस्तव्यस्त हुन जान्छ । समाजका समकालीन घट्नाक्रमको समयसान्दर्भिक रुपमा मूल्यांकन गर्दै गलत प्रवृत्तिको नियन्त्रण र नियमन गर्नुपर्छ । सामाजिक सञ्जालले निम्त्याएका विकृतिहरुको अनदेखा गरी सरकारले ध्यान नदिने हो भने हाम्रो सामाजिक संरचना र मानवीय जीवन अस्तव्यस्त हुन जान्छ
सरकारको निर्णयलाई पुष्ट्याई गर्ने तथ्यहरु यसप्रकार छन् :
१. मैले पनि ३ बर्ष पहिलेदेखि टिकटक चलाउन थालेको थिए । मुख्यतः मैले २ वटा उद्देश्य राखी टिकटक खोलेको थिए । पहिलो सांगितिक आनन्द मार्फत कामको तनाव कम गर्ने, दोस्रो टिकटकमा कानूनी सचेतनामूलक भिडियो पोष्ट गरी कानूनी जानकारी दिने ।
२. सुरुवाती चरणमा मैले सांगितिक भिडियोहरु बढी बनाए, किनकी मैले टिकटक प्रोफाईलमा फ्लोवर्स बढाएर बढी भन्दा बढी व्यक्तिहरुसँग सम्पर्कमा रहनु थियो । जब धेरै साथीहरु मेरो टिकटकमा जोडिए तबदेखि मैले कानूनी सचेतनामूलक भिडियो बनाउँदै पोष्ट गर्न थाले । त्यसपछि म भाइरल पनि भए। मेरो एउटै भिडियो ४/५ लाख भन्दा बढीले हेरे । ७/८ सय भन्दा बढी कानूनी प्रश्नहरु त कमेन्ट बक्समा आए। थुप्रै व्यक्तिहरुले कानूनी जानकारी लिनका लागि इन्बक्समा नम्बर मागे ।अधिकांश प्रश्नहरु पारीवारिक पीडा व्यथा र हिंसाबाट ग्रसित महिलाहरुकै हुन्थे ।
३. कैयन दिन त मैले राती २ बजेसम्म नसुतेर पनि कानूनी प्रश्नहरुको जवाफ दिए, पछि पछि त सयौँको संख्यामा इन्वक्समा प्रश्नहरु आउन थालेपछि मैले जवाफ दिन भ्याइन, मलाई डिस्टर्व महसुस भयो र मैले त्यो टिकटक एकाउन्ट बन्द गरेर सिमित साथीहरु मात्रै राखी नयाँ एकाउन्ट खोले । तर आजभोली त मलाई यो टिकटक देखेर विरक्त लाग्न थालेको छ । यसको सदुपयोग थोरै तर दुरुपयोग बढ्ता भैरहेको मैले देखिरहेको छु ।

बुँदागत रुपमा भन्नुपर्दा यसकारण टिकटक बन्दगर्नुपर्छ:
क. टिकटकमा भाइरले हुने दौडमा के देखाउनुपर्छ र के देखाउनु पर्दैन सबै बिर्सिन थाले । परीवारमा बसेर हेर्नै नसकिने उच्छृङ्खल भिडियोहरु आउँदैछन् । हाम्रा रीति संस्कृति लोप हुँदै गइरहेका छन् ।
ख. दिनप्रति दिन अश्लिलता मात्रै बढ्दैछ । आज अलि अलि देखाउनेहरु विस्तारै सिमा नाघ्न थालेका छन् । संस्कार र सभ्यता हराउन थालेको छ ।
ग. महिलाले परपुरुषसँग र पुरुषले परस्त्रिसँग घण्टौ टिकटक लाइभमा बसेर जिस्किने मस्किने र हाँसो मजाक गर्ने प्रवृत्ति बढेका कारण दाम्पत्य सम्बन्ध दरार पैदा भैरहेको छ । यसै कारणले पनि अदालतमा डिभोर्सका मुद्दाहरु बढिरहेका छन् ।
घ. मैले कैयन पटक देखिरहेको छु, वैदेशिक रोजगारमा गएका केहि महिलाहरुले टिकटक लाइभमा बसेर सुन्नै नसकिने अन्तरंग अश्लिल शब्दहरु बोली इमोश्नल ब्ल्याकमेल गर्ने, गोप्य अंग देखाउन लाउने लगायतका दुष्कार्यहरु हाँकाहाँकी हुँदैछन् ।
ङ. घण्टौ टिकटकमा समयखेर फाल्दा आर्थिक, सामाजिक र व्यवसायिक दृष्टकोणले नोक्सानी व्यहोर्नु परिरहेको छ।
च. विद्यालय तथा क्याम्पस पढ्ने किशोर किशोरीहरु टिकटकको लतले पढाईमा एकदमै कमजोर भइरहेका छन्। पढ्नु भन्दा टिकटकमा भाइरल हुनु उनीहरुको प्राथमकिता पर्न थालेको छ ।
छ. सामाजिक र पारीवारिक सद्‌भाव, भलाकुसारी, आत्मियता, सामिप्यता र संस्कारहरु सबै हराउँदै छन् । हाम्रा परम्परागत रीति संस्कृति लोप हुँदै गइरहेका छन् । उच्छृङ्खला र अश्लिलताले प्रशय पाइरहेको छ ।
धेरै जसो महानुभावहरुले यसको नियमन गर्नुपर्छ तर बन्द गरिनु हुँदैन भन्ने आदर्शवादी कुरा गरेको देख्न र सुन्न पाइन्छ । नियमन भनेर भन्न जति सजिलो छ, त्यो भन्दा जटिल बिषय यसको साच्चै नियमन गर्नु छ । यो अत्यन्तै जटिल बिषय हो। यसको उत्तम विकल्प भनेको बन्द नै गर्नु थियो र गरियो पनि । सँगैको छिमेकी राष्ट्र भारत लगायतका देशले पनि टिकटक बन्द गरेको उदाहरण हामीसँग छ । मनोरन्जनका अरु पनि तौर तरिका र साधनहरु छँदैछन् । टिकटक नहुँदा खेरी पनि जीवनवृत्ति मज्जाले चलेकै थियो । नहुँदा पनि चल्ने नै हो बानी पार्न केहि समय लाग्ला । प्रविधिले बिगारेको लत हो विस्तारै सब ठिक हुँदै जानेछ ।तसर्थ सरकारले गरेको आजको निर्णय एकदमै स्वागतयोग्य र आवश्यक छ । यसलाई यो वा त्यो बहानामा सरकारको निर्णयप्रति आलोचना गर्ने काम नगरौँ । यसको सफल कार्यान्वयनमा सरकारलाई सहयोग गरौँ।धन्यवाद !!

(सुनार नेपाल सरकारका कानुन अधिकृत हुन् ।)