काठमाडौं। सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपाललाई ४-२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधी उचालेको हो ।
उपाधीसँगै मैनावती फुटबल क्लब धनुषाले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय स्थान हासिल गर्ने लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपालले २९ हजार ५५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र साब्राली सुनुवार समाज तेस्रो स्थान हासिल गर्दै १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगतामा सर्वाधिक गोलकर्ताको पुरस्कार लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपलाका भीम सुनुवारले प्राप्त गरेका छन् । उनले व्यक्तिगत ७ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधी मैनावती फुटबल क्लबका गोल रक्षक अश्वित सुनुवारले प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीको उपाधी मैनावती फुटबल क्लबका खेलाडी गुण्डास सुनुवारले प्राप्त गरेका छन् ।
शनिबारबाट ललितपुर २६ ढोलाहिटीस्थित बिनायक स्पोर्टस् कम्प्लेक्समा पूर्व कोसी प्रदेश मन्त्री माननीय प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा उद्घाटन भएको खेल आईतबार समापन भएको हो । राष्ट्रसेवामा सुनुवार राष्ट्रसेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक भन्ने मूल नाराका साथ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सञ्चालन भएको ‘सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण–२०८३’ दुई दिन सञ्चालन भएको प्रतियोगितामा ३२ टिम सहभागि भएका थिए।
नकआउट आधारमा सञ्चालन गरिएको प्रतियोगतामा सुनुवार खेलाडीहरूलाई सहभागि गराईएको आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारका अनुसार "प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायकाबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी गर्दै सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने उद्देश्यले आयोजना गरेको बताउनु भयो ।"
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक एकता, अनुशासन, सहकार्य र सामुदायिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्ने र युवाहरूलाई एउटै साझा मञ्चमा जोड्दै खेलकुद र राष्ट्रनिर्माणप्रति आकर्षण अभिवृद्धि गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुनुवारले बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी सुवित कुमार सुनुवारलाई सेवा निवृत्त जीवन फलदायी, सुखद, सफलताको कामना गदै ३८ वर्ष अनवरत रुपमा राष्ट्रसेवामा समर्पित हुनुभएकोमा सम्मान पत्रसहित सम्मान गरिएको छ ।

