काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उपचार तथा विस्थापितका लागि उचित बसोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्वतयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराउनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

