काठमाण्डौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दज्र्यानी चिन्ह लगाउनु भएको छ।
आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाईदिनु भएको हो । मन्त्रीपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना हनु भएको थियो ।
अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको हो । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।
यसैबीच, गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले उमेर मात्रै ज्येष्ठताको आधार नभएको बताउनु भएको छ ।
हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दज्र्यानी चिह्न लगाउँदै गृह सचिव पाण्डेले परिपक्वता र काम गर्ने क्षमताका आधारमा आईजीपी बढुवा गरिएको स्पष्ट पार्नु भएको हो । पालो मिचेर आईजीपी नियुक्त गरिएको भन्दै सरकारको आलोचना भईरहेको बेला गृहसचिव पाण्डेले आईजीपी नियुक्तिबारे अनावश्यक मिडियाबाजी गरेर विवाद निम्त्याउन खोजिएको बताउनुभयो ।
अर्याल र सिंहलाई हिजोको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीमा नियम मिचेर आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल थापाले भने अदालत जाने तयारी गरेका छन् ।००००

