काठमाडौं– यही वैशाख ३० गते एकै चरणमा देशभर हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। ११ र १२ वैशाखमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, सदस्य गरी सबै पदमा नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको छ।

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ। त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ। त्यस्तै उप्रमुखमा २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन्।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन्। कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको आयोगको तथ्यांक छ।

नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन्। त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन्। त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन्। माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परेको छ।

अहिलेसम्म ७५३ स्थानीय तहका सबै पदमा गरी १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको विवरण प्राप्त भएको आयोगले जनाएको छ।