नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेबाट पुन : टिकट पाउने  सम्भावना नभएपछि स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको एक दिन अगाडि तामाङ एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। 

आज मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच एकीकृत समाजवादीका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्ज होम बहादुर बुढाथोकी सहितका नेताहरुले स्वागत गरेका थिए ।   कार्यक्रममा निवर्तमान एमाले उपाध्यक्षसमेत रहेका तामाङले पार्टीको मूल-जिल्ला नेतृत्व र त्यसको गलत प्रवृत्तिबाट मुक्त हुन नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। उनले एमालेमा रहँदा-बस्दा आफूले योगदान र अथक परिश्रमबाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी पाएर गौरवपूर्ण जित हात पारेको दाबी गरे।

तामाङले आफूले पाएको संसदीय जिम्मेवारी रामेछापका अन्य पालिकामात्र नभई, प्रदेश र देशभरिमै उत्तम श्रेणी र परिणाममुखी रहेको कुराको चित्र आफूले खाँडादेवी गाउँपालिकामा स्थापित गरेको बताए। राजनीतिक रुपमा थप सक्रिय हुँदै न्यायपूर्ण, लोकतान्त्रिक, समतामूलक समाज र सबल राष्ट्र निर्माणका लागि नीति र विचार मिल्ने नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भई अगाडि बढ्ने तामाङले उद्घोष गरे।

निर्वाचन आचारसंहिता अनुसार गाउँपालिकामा पुन : उम्मेदवारी दिन उनले खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। तामाङ हाल नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्यमा समेत हुन्। तामाङले एमालेबाट टिकट पुन : नपाउने भएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको बेला समाजवादीले तामाङलाई पार्टी प्रवेश गराएको हो। एमालेले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ।