काठमाण्डौ । निर्वाचन आयोगले दलहरुले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने भन्ने यसअघिको प्रावधानमा संशोधन गरेको छ ।
दलहरुले यो प्रावधानमाथि आपत्ति जनाएपछि आयोगले सच्याउँदै प्राथमिकता मात्रै दिए पुग्ने व्यवस्था गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ती जारी गर्दै राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशी मैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ’स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको जनाएको हो ।
यस्तै आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालन गर्न आग्रह गरेको छ । आयोगले निर्वाचनका लागि देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन समेत गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।

