सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले मदन भण्डारीको नाम दुरुपयोग गरी राजनीति गरिरहेको आरोप लगाउनु भएको छ ।
आज काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले मदन भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई गलतरूपमा प्रयोग गरिरहेको बताउनु भएको हो । अध्यक्ष नेपालले एमालेमा रहेका इमानदार नेताहरू एकीकृत समाजवादीमा फर्किइरहेको पनि दाबी गर्नुभयो । आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको उहाँको भनाइ थियो । अबको निर्वाचनमा कृषि, उद्योग, उत्पादन, वनको प्रयोग गरेर समृद्धिमा मुलुकलाई लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको नेतृत्व गैरजिम्मेवार व्यक्तिको हातमा पुग्दा देशले दुःख पाएको बताउनु भएको छ । ४२ महिनासम्म सरकारमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेको उहाँको आरोप थियो ।
कार्यक्रममा एकीकृत समाजवादीका सचिवसमेत रहनु भएका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टी एक्लै चुनावमा गए पनि सानदार जीत हासिल गर्ने तर गठबन्धनको सिद्धान्तअनुसार आफूहरू अगाडि बढेको बताउनुभयो । मुलुकको संविधाान लोकतन्त्र समाप्त पार्न खोज्नेहरुको विरुद्ध अहिलेको गठबन्धन बनेको उहाँको भनाई थियो ।००००

