खाङसाङ। स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा (एमाले) फिक्कल गाउँ कमिटीको आज बसेको बैठकमा अध्यक्षको उम्मेदवारका लागि सात आकांक्षी देखिएपछि सर्वसहमति हुन सकेन। उपाध्यक्ष पदका लागि पनि तीन आकांक्षी देखिएको छ।
नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि शुक्रबार (आज) देशभर स्थानीय तहको अध्यक्ष/उपाध्यक्ष तथा नगर प्रमुख/उपप्रमुखको टुङ्गो लगाउने कार्य तालिका रहेको थियो। सोही अनुसार फिक्कल गाउँ कमिटीको शुक्रबार बसेको बैठमा अध्यक्ष/उपाध्यक्ष दुवै पदका लागि आकांक्षी बढी देखिएको र सहमति जुट्न नसक्दा आकांक्षीको नाम जिल्ला सिफारिस गरिएको गाउँ कमिटी अध्यक्ष राम प्रसाद भण्डारीले जनाएका छन्।
फिक्कल गाउँपालिकामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, गाउँ कार्यपालिका सदस्य खड्ग बहादुर सुनुवार, गाउँ कमिटी अध्यक्ष राम प्रसाद भण्डारी, वडा नं. ५ का अध्यक्ष राजु बराल, केशवराज पहाडी र खड्ग रजन मगर(धिरज) रहेका छन्। त्यस्तै उपाध्यक्ष पदका लागि अप्सरा पुलामी, अनिता पहाडी र तोयानाथ बराल आकांक्षी रहेको वर्तमान उपाध्यक्ष पार्वती सुनुवारले जनचासो स्रोतलाई जानकारी गराएका छन्।
उपाध्यक्ष सुनुवारका अनुसार अध्यक्ष र उपाध्यक्ष दुवै पदका लागि सर्वसहमतिबाट उम्मेदवार छनौट हुन नसकेपछि आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो।
यो पनि पढ्नुहोस्:

