काठमाडौं । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताउनुभएको छ ।
गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उहाँले यसपटक काँग्रेसलाई नेतृत्वमा सहयोग गर्न आग्रह गर्नुभयो । सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताउनुभयो ।
उहाँले काँग्रेसले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताउनुभयो । २०७४ सालको निर्वाचनमा आफ्नो पार्टीले माओवादीलाई सहयोग गरेको र त्यसको पैँचो अब काँग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताउनुभयो ।
सभापति खनालले नेपाली काँग्रेस चितवनले आफ्ना कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न र नेपाली काँग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताउनुभयो । ००००

