काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ । 

आज सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उहाँले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पु¥याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताउनुभयो । उहाँले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।