काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठलाई सिफारिस गरिएको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय र साउदी अरेबियाका लागि नवराज सुवेदीको नाम सिफरिस गरिएको छ । यस्तै एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई कतार वा मलेसियाका लागि सिफारिस गरिएको छ ।
राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
यस्तै, सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त गरेको छ । सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेका ३ जनामध्येबाट सरकारले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । छनौट समितीले मन्त्रालयको सुचना प्रविधि केन्द्रमा कार्यरत पौडेल सहित टेलिकममा कार्यरत संगीता पहाडी अर्याल र सुरज सिंह थापाको नाम सिफारिस गरेको हो ।

