सिन्धुली। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) को तर्फबाट फिक्कल गाउँपालिकाको अध्यक्ष पदका लागि आफ्नो प्रमुख दाबी रहने वर्तमान उपाध्यक्ष पार्वती सुनवारले बताउनु भएको छ। यही बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा फिक्कल गाउँपालिकाको अध्यक्ष पदका लागि पार्वती सुनवारको दाबी रहने बताउनु भएको हो।
स्थानीय तह निर्वाचनको लागि वडा तहदेखि उम्मेदवारको नाम टुङ्गो लगाउँदै गाउँपालिका/नगरपालिकाको अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुखको नाम टुङ्गो लगाउने तयारी भईरहेको बेला सुनवार अध्यक्ष पदका लागि आकांक्षी रहेको बताउनु भएको हो।
वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष पदको लागि नाम चर्चामा रहेका सुनुवार अन्तत: उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो। स्थानीय तह निर्वाचन २०७४ मा फिक्कल गाउँपालिकाबाट निर्वाचित पदाधिकारीहरू मध्ये सबैभन्दा बढी मतका साथ निर्वाचित हुनु भएकोले फिक्कल गाउँपालिकामा उहाँको जनाधार बलियो रहेको नेताको रुपमा परिचित हुनुहुन्छ।
स्थानीय तहको निर्वाचनका लागि फिक्कल गाउँपालिकाबाट नेकपा एमालेका थुप्रै आकाङ्क्षीहरूमध्ये उपाध्यक्ष पार्वती सुनुवार भिजन भएको नेताको रुपमा देखिएको छ। समाजशास्त्रमा स्नातकोत्तर (मास्टर) हासिल गरेका सुनुवार शैक्षिक हिसाबले पनि अन्य उम्मेदवारभन्दा अब्बल रहेका छन्। उपाध्यक्ष पदमा रहेर एक कार्यकाल सफलतापूर्वक कार्यकुशलता पस्केका सुनुवारले गाउँपालिकामा रहेको समस्यालाई नजिकबाट नियालेको र पार्टीले अध्यक्ष पदमा टिकट दिए नेकपा एमालेको तर्फबाट गठबन्धनलाई समेत सजिलै परास्त गर्ने बलियो जनाधार रहेको र निर्वाचित भए पश्चात गाउँपालिकालाई समृद्धि तर्फ अघि बढाउने भिजन रहेको बताउनु भएको छ।
नेतृत्वमा अब्बल मानिएका सुनुवार अखिल नेपाल महिला संघ सिन्धुली जिल्ला सचिव हुँदै अध्यक्षको समेत सफल नेतृत्व गरि सक्नु भएको छ भने हाल अनेम संघको सातौँ राष्ट्रिय सम्मेलनको आयोजक समितिमा हुनुहुन्छ। नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्यमा तीन कार्यकालदेखि निर्वाचित हुँदै नेतृत्व गरिरहनु भएको छ।

