काठमाण्डौ । नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ ।
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा उक्त सहमति भएको हो । भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाले दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको जानकारी दिनुभयो । भारतीय विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा समस्यालगायत सुरक्षा समस्याका विषयमा पनि दुई देशबीच छलफल गरेर समाधान गर्ने सहमति भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले सीमा विवादबारे द्धिपक्षीय संयन्त्र मार्फत समाधान खोज्नेबारे छलफल भएको बताउनुभयो ।
भारतीय विदेश मन्त्रालयका सचिव श्रृङ्गलालेसीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच छलफल भएको बताउनुभयो । उहाँले नेपाल भारतबीच भएको सहमतिले दुई देशलाई फाइदा हुने बताउँदै यसले दुवै देशको जनतामा सकारात्मक सन्देश जाने विश्वास लिएको समेत बताउनुभयो । यस्तै दुई देशबीच चार वटा सम्झौता भएको छ ।
दुई देशबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता सम्बन्धी सम्झौता भएको हो । भारतीय समकक्षी सँगको भेटपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गर्नु भएको छ । उहाँले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताउनु भयो । मोदीले आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे छलफल भएको जानकारी दिनुभयो । सो क्रममामोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताउनुभयो । नेपाल–भारत अनादीकालदेखिनै सुखदुखको साथी रहेको बताउँदै उहाँले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको बताउनुभयो ।
यस्तैप्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गर्नु भएको छ । भारत भ्रमणका क्रममा देउवा र भारतीय समकक्षी मोदीले विश्वव्यवापी भुक्तानी कार्डको उद्घाटन गर्नु भएको हो । ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।००००

