काठमाडौँ- नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दैछ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय सार्वजनिक हुने उनको भनाइ छ । गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनको पक्षमा उभिएका छन् । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।

पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा.महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् । कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४‌औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगन थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् । चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै समूहका नेताले समेत साथ नदिएको देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ ।