काठमाण्डौ । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता सहभागी हुन पाउने भएका छन् ।
निर्वाचन आयोगले आईतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आसन्न स्थानिय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्न पाउने जानकारी दिएको हो । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य मतदाता रहेका छन् ।आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।
यसैबीच, निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आईतबारसार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ स्थानिय तहमा निर्वाचन अधिकृत तोकिएको जनाएको हो । जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकिएको छ । आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिईने जनाएको छ । आयोगले आगामी शुक्रबारबाट करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।००००

