काठमाण्डौ । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आवश्यकता अनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने प्रस्ताव उठेको छ ।

बैठकमा धारणा राख्ने क्रममा कतिपय जिल्लाको अवस्थाबारे जानकारी गराउँदै केन्द्रीय सदस्यहरुले आवश्यकता अनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शुक्रबारको बैठकमा कांग्रेसको चुनावी अभियानमा खटिएका २१ जना केन्द्रीय प्रतिनिधि नेताहरुले धारणा राखेका थिए । केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हासिल गर्नकालागि नेकपा एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत कर्णाली प्रदेशका कतिपय जिल्लामा नेकपा माओवादी केन्द्रका विरुद्व एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताउनु भएको थियो । बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता अनुसार, मतभार समेतको व्याख्या गरेर पार्टीलाई लाभ हुने गरीमात्रै गबठन्धन गर्नुपर्ने धारणा राखेकोप्रवक्ता प्रकाश सरण महतले जानकारी दिनुभयो । उहाँले सरकार निर्माणको क्रममा एक खालको गठबन्धन बनेको भएपनि चुनावी गठबन्धनबारे अहिल्यै यो दलसँग गर्ने र अर्को दलसँग नगर्ने भनेर कांग्रेस नभनेको बताउनुभयो । तर, सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनलाई चुनावी गठबन्धनको रुपमा अघि बढाउने मनस्थिति बनाउनु भएको छ ।

सभापति देउवाले यसअघिनै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय समितिबाट गठबन्धन गर्ने निर्णय गराएर ल्याउने वचन दिइसक्नु भएको छ । केन्द्रीय समितिमा भने गठबन्धन गर्ने वा नगर्ने भनेर केन्द्रले निर्णय गर्न नपाउने आवाज उठेको प्रवक्ता महतले बताउनुभयो । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पर्सी आइतबार पनि बस्ने भएको छ । केन्द्रीय समितिको बैठक आइतबार पुनः बस्ने गरि स्थगित भएको छ । ००००