काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् ।
महासंघको १० औं महाधिवेशनबाट अध्यक्षमा शेर्पा निर्वाचित भएका हुन् । महासंघको नेतृत्वकालागी २ जनाबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षका अर्का प्रत्यसी सोनाम वालुंगलाई ८ मतले पराजित गर्दै शेर्पाले ४४ मतसहित विजयी हासिल गरेका हुन् ।
नेपाली कांग्रेस समर्थितबाट शेर्पा र माओवादी समर्थितबाट वालुंगले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यस्तै, महासचिवमा एमाले समर्थित दिवस राई ३६ मतका साथ निर्वाचित भएका छन । उनले जनता समाजवादी समर्थित सुखविर थामीलाई पराजित गरेका हुन । उनले १५ मत पाएका थिए ।
देशभरका ५६ वटा जातीय संस्थामध्ये महाधिवेशनमा ५४ सस्थाका एक एक जना प्रतिनिधिले भाग लिएपनि ५३ जनाले मात्रै मतदान गरेका थिए । हायु समुदायको प्रतिनिधीले निर्वाचन बहिष्कार गरेका थिए ।
यस्तै महासंघको २१ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती भुजेल, ७ उपाध्यक्षमा युवराज जिरेल, ध्यानी गराँउ, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुंग भोटे, लाक्पा शेर्पा ढोक्प्या, लहरु जिमी, श्रुती कुमाल निविरोध निर्वाचित भएका छन ।
त्यस्तै, उपमहासचिवमा रामकृष्ण लामा ब्लोन, सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्र कुमारी बराम निर्विरोध निर्वाचित भएका छन । कोषाध्यक्षमा विमल सारु मगर र सहकोषाध्यक्षमा रिदार नोसांग भोट चयन भएको निर्वाचन समितिले जनाएको छ ।
विजयी भएसँगै महासंघका अध्यक्ष शेर्पाले नेपाल शेर्पा संघको अध्यक्षसमेत भइसकेकोले आफूलाई पहिचान र अधिकारको आन्दोलनबारे अनुभव भएको बताएका छन । उनले पहिचानसहितको संघीयतालाई संस्थागत गर्दै महासंघको संस्थागत विकासका लागि पहल कदमी लिने दाबी गरेका छन ।

