काठमाडौं। सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबारको संवैधानिक इजलासले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो। त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपकविक्रम मिश्रको रिट खारेज भएको छ । उहाँहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गर्नुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति गरेको थियो। ती नियुक्ति असंवैधानिक भएको भन्दै एक वर्षअघि सर्वोच्चमा रिट परेको थियो।
रिटमाथि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले ४ चैतदेखि सुनुवाइ शुरु गरेको थियो।
यसअघि गत २७ भदौमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो।

