काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक आयोगमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

संवैधानकि इजलासमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउने छन् ।

संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए ।