काठमाण्डौ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुका बिचमा एकता गर्नुपर्ने बताउनु भएको छ । 

आज काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताउनु भएको हो । उहाँले विगतमा नेकपाबाट विभाजन भएको एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबिचमा एकता हुनुपर्नेमा जोड दिनुभयो । 

यस्तैै नेता भुसालले संसद विघटन ठीक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताउनु भयोे । संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको भन्दै अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने उहाँको भनाई थियो । 

नेता भुसालले नेताहरुका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बिगतको अनुभवहरुबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरुको नीजि स्वार्थमा टेकेर गर्नु नहुने बताउनुभयो ।००००