काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न निर्वाचनमा सत्ता साझेदार दलहरुबीचको तालमेलको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल सम्भव रहेको बताए । प्रवक्ता महतले चुनावी तालमेलकोे मोडालिटी भने तयार भइनसकेको बताए ।
‘चुनावी गठबन्धनको सम्भावना नकार्न सकिन्न । सम्भावना छ,’ उनले भने, ‘कसरी हुन्छ, कुन तहमा हुन्छ, भन्ने कुराको मोडालिटी तयार भएको छैन ।’ गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल भए सबैको जीत हुने गरी तालमेल हुने प्रवक्ता महतको भनाइ थियो ।
‘वीन वीनको अवस्थामा गठबन्धन हुनुपर्छ,’ उनले भने, ‘कस्तो प्रस्ताव आउँछ । ठूलो प्रस्ताव आए सम्भव हुँदैन ।’ फागुन २९ बाट शुरु गरिएको चुनाव लक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔं’ अभियान तालमेलको बहस गर्न नभइ कांग्रेस जोड्ने अभियान भएको महतले बताए । ‘शुद्ध रुपमा हामीले बढीभन्दा बढी प्रभाव र पहुँच विस्तार गर्ने अभियान हो । नेपाली कांग्रेस जोड्ने अभियान हो । गठबन्धन गर्ने वा नगर्ने भनेर बहस गर्ने अभियान होइन,’ उनले भने ।

