काठमाण्डौं । अध्यादेशमार्फत् संवैधानिक निकायहरुमा गरिएको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
संवैधानिक इजलासमा जारी सुनुवाइमा पक्ष र विपक्षले आफ्ना तर्क र दाबी राखिरहेका छन् । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले आज आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकेपछि उक्त मुद्दाले लामो समयपछि सुनुवाइको मौका पाएको हो । संवैधानिक इजलासमा कार्की, न्यायाधीश मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर श्रेष्ठ र ईश्वर खतिवडा रहनु भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामाथि बहस भइरहेको हो ।
बहसमा भाग लिँदै रिट निवेदक गणेश रेग्मीको विपक्षमा बहस गरेका कानुन व्यवसायीहरु रमेश बडाल र सुरेन्द्र भण्डारीले उक्त मुद्दामा सुनुवाइ गर्न नमिल्ने तर्क गरेका थिए । तर, पक्षतर्फबाट बहसमा उत्रिएका अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढ्नु पर्ने माग गर्नु भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध गरेको भन्दै संवैधानिक इजलासले उक्त अवरोध खुलाउनु पर्ने अर्यालले बताउनुभयो ।
यसअघि गत भदौ १७ गते रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।

