काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी (एमाले) को लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गतको जातिय घटक संगठन लोकतान्त्रिक किरात सुनुवार संघको तेस्रो राष्ट्रिय अधिवेशन आगामी चैत्र ५ गते सम्पन्न हुने आयोजक कमिटीका संयोजक प्रेम कुमार सुनुवारले बताएका छन्। संयोजक सुनुवारका अनुसार राष्ट्रिय अधिवेशन काठमाडौंमा सम्पन्न हुनेछ।
संयोजक सुनुवारका अनुसार पार्टी एकता र विभाजजका कारण केही समय राष्ट्रिय अधिवेशन लम्बिएको र पार्टीको केन्द्रीय सर्कुलरसँगै संगठनको गतिविधी सुचारु गर्न पनि तेस्रो राष्ट्रिय अधिवेशन आह्वान गरिएको हो। संघको तेस्रो राष्ट्रिय अधिवेशनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता सम्पन्न हुने गरी सबै तयारी अन्तिम चरणमा पुगेको संयोजक सुनुवारले बताए। उनका अनुसार सुनुवार बसोबार रहेका प्रत्येक स्थानीय तहबाट ५/५ जना (२ महिला अनिवार्य) सहित प्रतिनिधिहरू सहभागि हुने छन्। तेस्रो राष्ट्रिय अधिवेशनमा संघीय संरचना अनुरुप विधान संशोधन लगायत नयाँ केन्द्रीय कमिटीको टुङ्गो लगाउने छ।

