काठमाण्डौ । सर्वोच्च अदालतले प्रमुख प्रतिपक्षि नेकपा एमालेले पार्टीका तत्कालीन १४ जना सांसद्विरुद्ध  दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले रिटलाई अन्तिम सुनुवाइका लागि पठाउने आदेश दिएको हो । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो ।

उक्त आदेशपछि अब तोकिने पेसीमा अन्तिम सुनुवाइका लागि बहस हुनेछ । दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुने छ । सर्वोच्चले तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्वन्धी अध्यादेशदेखि सभामुख अग्नी प्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको विषयसम्मलाई सम्वोधन गर्नुपर्ने छ ।  

एमालेले पार्टीका तत्कालीन १४ सांसदलाई गरेको कारवाहीलाई सभामुखले मान्याता नदिएको भन्दै झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।००००