काठमाण्डौं । प्रतिनिधिसभा बैठकमा निलम्बितप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव पेस भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवगुरुङले महाअभियोग प्रस्ताव पेश गर्नुभएको हो । गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव आजको संसद बैठकमा पेश भएको हो ।
महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उनको न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताउनुभयो । प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको सदस्यको हैसियतमा विभिन्न संवैधानिक निकायमा भाग लिएको र कार्यपालिकामा पनि हिस्सा खोजेको उहाँको भनाई थियो ।
महाअभियोग प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ गते बस्ने संसद बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा सांसदहरुले धारणा राख्नेछन् ।आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो ।
एमालेको अवरोधबीच आज सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८ पेस गर्नुभएको थियो ।

