काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमाले प्रवेश गर्ने चाहना व्यक्त गरेकी छन् ।
मानन्धर बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् । ‘उहाँले (मानन्धर)ले एमाले प्रवेश गर्ने चाहना अध्यक्षलाई सुनाउनुभएको छ । अध्यक्षले पनि पार्टीमा स्वागत गर्न पाउँदा खुशी हुने बताउनुभएको छ,’ उनीहरूको भेटबारे ओलीका प्रेस सल्लाहकार रामशरण बजगाइँले भने ।
अभिनेत्री मानन्धरले लामो समयदेखि ओलीलाई भेट्न चाहेकी थिइन् । भेटमा मानन्धरले ओलीको प्रसंशा गरेकी थिइन् । ‘तपाईंले लिनु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा असाध्यै मन परेको छ । तपाईंसँग असाध्यै प्रभावित छु । स्पष्ट भिजन भएको नेताको रूपमा बुझेको छु,’ मानन्धरले ओलीसँग भनेकी थिइन् ।
बजगाइँका अनुसार मानन्धरले अरू नेताहरूले सरकारमा पुग्ने उपाय मात्रै खोजिरहेको तर, एमाले अध्यक्ष ओलीमा भने देश र जनताको लागि केही गरौं भन्ने भावना पाएको बताएकी थिइन् । संवादको क्रममा केही समयमा कार्यक्रम आयोजना गरेर मानन्धरलाई पार्टी प्रवेश गराउने ओलीले बताएका थिए । मानन्धर यसअघि डा. बाबुराम भट्टराईले बनाएको ‘नयाँ शक्ति’ पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा मर्ज गरेपछि मानन्धर राजनीतिबाट अलग भएर बसेकी थिइन् ।

