काठमाडौं । सरकारले बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनमय बन्दै गएको छ ।
निर्वाचन आयोगले तीव्रताका साथ निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिएको छ । राजनीतिक दलहरूले पनि चुनाव लक्षित गतिविधि बढाउन थालेका छन् ।
निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरू आन्तरिक छलफल, सांगठनिक गतिविधि र २०७४ सालको स्थानीय तह निर्वाचनको समीक्षामा जुटेका छन् । निर्वाचन मिति नजिकिएसँगै दलहरूले गोष्ठी, भेला, सम्मेलनलाई तीव्रता दिन थालेका हुन् ।
राष्ट्रिय राजनीतिमा व्यस्त नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेका सचिव लेखराज भट्ट केही दिनदेखि कैलालीको क्षेत्र नम्बर ४ मा छलफल र भेटघाटमा व्यस्त छन् । उनले छलफलमा स्थानीय नेताहरूबाट सुझाव संकलन र मतदाताको राय बुझिरहेका छन् ।
नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्यसमेत खटाइसकेको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने जनाएको छ । उम्मेदवारको टुंगो लागेपछि चुनावी अभियानलाई थप तीव्रता दिने नेताकार्यकर्ताको तयारी छ । ‘घर-घरमा कांग्रेस, जन-जनमा कांग्रेस’ भन्ने मूल नाराका साथ हामीले चुनाव लक्षित अभियानलाई अगाडि बढाउँदैछौँ । वडा, पालिकाहरूमा कार्यक्रम भइरहेका छन्, उम्मेदवारको टुंगो लागेपछि अझ शसक्त भएर अगाडि बढ्ने छौँ,’ कांग्रेस कैलालीका सभापति नारायणदत्त मिश्रले भने ।
नेकपा माओवादी केन्द्रले पनि निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । माओवादी कैलालीका नेता लालबहादुर सोडारीका अनुसार निर्वाचनको मिति घोषणासँगै टोल भेला र छलफल सुरु भइसकेका छन् । एमालेबाट अलग भएर बनेको नेकपा समाजवादीले पनि निर्वाचन गतिविधिलाई अगाडि बढाएको छ । समाजवादीले पनि गाउँ केन्द्रित कार्यक्रम सुरु गरिसकेको समाजवादी कैलालीका अध्यक्ष दीर्घ सोडारीले जानकारी दिए ।
पालिका स्तरमा उमेदवारहरूको समेत चर्चा हुन थालेको छ । सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १ सय १३ वटा दल दर्तामा रहे पनि ५७ दल मात्र प्रतिस्पर्धामा उत्रिएका थिए । हाल आयोगमा १ सय ३ वटा दर्ता भए पनि ४४ वटा खारेजीमा परिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मापौडेलले जानकारी दिनुभएको छ ।

