काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई तत्काल जारी गर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै यसका लागि संघीय निजामती सेवा ऐन छिट्टै जारी गर्ने बताएका हुन् ।
उनले कर्मचारी समायोजनको क्रममा देखिएका समस्यालाई पनि समाधान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले निजामती कर्मचारीले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन हुने र त्यसपछि आम निर्वाचन हुनेभन्दै एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केही समय अघि नै हुनसक्ने बताए । थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी समेत गरे । कार्यक्रममा अन्य कांग्रेस नेताहरुले कांग्रेसले आफ्नै जोड बलमा चुनाव जित्ने भन्दै कसैको सहारा लिन आवश्यक नरहेको धारणा राखेका थिए ।

