काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा सकिने टिप्पणी गरेका छन् ।

उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर । अब त्यो आयो ।’ केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो ।

उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’ ओलीले माओवादी केन्द्र सकिनै पर्ने पनि बताए । उनले नेकपा एकीकृत समाजवादी पार्टी तर्फ संकेत गर्दै माधव नेपालको पार्टी नै नबनेको उल्लेख गर्दै बन्दै नबनेको पार्टीको कसरी सकिन्छ भनेर टिप्पणी गरे ।

उनले प्रचण्डप्रति कटाक्ष गर्दै प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताए । उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनु, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’ प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकेको भन्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् ।