काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका सन्दर्भमा गृहकार्य थाल्नु भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिनु भएको हो । राजदूत नियुक्तिको विषयमा उहाँले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत परामर्श थाल्नु भएको छ ।
गठबन्धनको पछिल्लो बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुलाई राजदूतको नाम दिन आग्रह गरेको बताइएको छ । आगामी मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको परराष्ट्रमन्त्री नारायण खड्काका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा चुनावी आचारसंहिता लाग्ने भएकाले अबको केही दिनमै सबै देशमा राजदूत नियुक्त गरिने उहाँले बताउनुभयो । हाल चीन, श्रीलंका, दक्षिण कोरिया, म्यानमार, मलेसिया, साउदी अरेयिबा लगायत बिभिन्न २० देशमा राजदूत नियुक्त गर्न बाँकी छ ।००००

