काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ ।
माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो । यो समूहका सांसदद्वय गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए ।
एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ । यो समूहका नेताहरुको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर संघर्ष गर्ने भन्ने बहस छ ।
नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘केन्द्रीय समितिको बैठकमा जाने र आफ्ना कुरा राख्ने सल्लाह भएको छ ।’ उनका अनुसार एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफना मत राख्ने यो समूहको तयारी छ । गत फागुन १५ गते संघीय संसदले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा विवाद चुलिएको छ ।
कुनै हालतमा एमसीसी पास गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको समूहले शुक्रबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा फरक दस्तावेज नै लैजाने भएको छ ।
एमसीसी संसदबाट अनुमोदन भएपछि नेता श्रेष्ठले त्यही साँझ अध्यक्ष प्रचण्डतिर लक्षित गर्दै पार्टीलाई निजी कम्पनी बनाएको आरोप लगाएका थिए । त्यससँगै उनले एमसीसी पास भएको दिनलाई कालो दिनको संज्ञा दिँदै त्यही अनुसार सम्झिने पनि बताएका थिए ।
माओवादीको एउटा पंक्ति एमसीसीविरुद्ध उभिँदा उभिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन जोगाउन समर्थन जनाइदिएपछि पार्टी फुट नजिक पुगेको छ । श्रेष्ठ नेतृत्वको समूहले अध्यक्ष प्रचण्डमा ठूलो राजनीतिक विचलन आएको निष्कर्ष पनि निकालेको छ। पार्टीमा अन्तरसंघर्ष चलिरहँदा श्रेष्ठले माओवादीबाट यसअघि नै बाहिरिएर अलग्गै पार्टी चलाइरहेका नेत्रविक्रम चन्दसँग पनि वार्ता गरेका छन् ।
अर्कातिर अध्यक्ष प्रचण्डले यही सोमबार खुमलटारमा पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठतिर लक्षित गर्दै पार्टी छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए । उनले आफ्ना कुरा पार्टीमा राख्न भन्दा भन्दै सार्वजनिक रुपमा बोलेको भन्दै पार्टी छाडेर गएमा आफूले नरोक्ने बताएका थिए । २०५४ मा वामदेव गौतमले एमाले छाड्न एक सिट पनि जित्न नसकेको बताउँदै माओवादी छाड्नेको पनि त्यस्तै अवस्था हुने तर्क गरेका थिए ।

