काठमाण्डौ । विभिन्न जनजातिको मौलिक चाडपर्व आउदा सरकारलाई सार्वजनिक विदा दिन भन्दै डेलिगशन जानुपर्ने दिन अन्त्य भएको छ । 

सरकारले अब उभौली, उधौली, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार आदि चाडपर्वका दिन आगामी बर्ष देखी स्थायीरुपमा विदा दिने निर्णय गरेको छ । यी महत्त्वपूर्ण चाडपर्वहरूमा सम्बन्धित समुदायलाई मात्र नभई दशैं, तिहारमा जस्तै सबैलाई सार्वजनिक बिदा हुने छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको विशेष पहलमा गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले थप छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले आगामी वर्षदेखि ती छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार, सरकारले आगामी वर्षदेखि उभौली पर्व–चण्डी पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही ज्यापू विस (धान्य पूर्णिमा), क्रिसमस डे, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

फागुन ३ गते मन्त्रिपरिषद प्रशासन समितिका संयोजक मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको सिफारिस अनुसार मन्त्रिपरिषदले छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय भएको हो ।