काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न सत्ता गठबन्धनको बैठकले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको बताए । पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।
सत्ता गठबन्धका साझेदार पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेपालबीच ब्याख्यात्मक टिप्पणीसहित उक्त सहमति भएको हो । राष्ट्रिय जनमोर्चा भने एमसीसीको विरोधमा छ ।
एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । बालुवाटार बैठकमा माओवादी केन्द्र र नेकपा एसले मन्त्रिपरिषद् बैठकबाट व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्ने माग गरेका थिए ।

