काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो ।
जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति निकालेर प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गतेनै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने काम गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ ।


