काठमाडौँ ।  सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता टेबल गर्ने विषयमा दोहोरो चरित्र प्रदर्शन गरेका छन् ।  

बालुवाटारमा शीर्ष नेताहरुले टेबल गर्न दिने सहमति गरे । तर प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र मूल बैठकमा टेबल गर्ने निर्णयको विराेध गरे । त्यस्तै यिनै दलले आफ्ना भ्रातृ स‌ंगठनलाई सडक प्रदर्शनमा उतारे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा आइतबार बिहान भएको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमति जनाए तर बाहिर यी दुवै दलका नेताको विरोध पनि सार्वजनिक भयो ।

नेकपा एसका दोस्रो वरीयतामा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशी शक्तिको सामु झुकेर एमसीसीलाई अघि बढाउनका खोजेको आरोप लगाएका छन् ।त्यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित कार्यव्यवस्था समितिमा सहभागी भएका नेताहरुले टेबल गर्ने विषयमा लिखित रुपमै असमति जनाएका छन् । उनीहरुको असन्तुष्टीका बाबजुद आइतबारको कार्यसूचीमा एमसीसीसँग भएको सम्झौता कार्यसूचीमा परेको छ । गुरुङसहितका नेताहरुले एमसीसीको विषयमा राष्ट्रिय सहमति हुनुपर्ने, कतिपय बुँदा संशोधन र परिमार्जन हुनुपर्ने र टेबल गर्न अघि संसद सुचारु हुनुपर्ने तर्क राखेका छन् । विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका आलोचना गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।

नेकपा एसभित्र संशोधन बिना अनुमोदन हुन नहुने विषयमा पार्टीभित्र एकमत रहे पनि सम्झौता टेबल गर्ने विषयमा भने विवाद देखिएको हो । सो दलभित्र टेबल गर्नुअघि सर्तहरु पुरा हुनुपर्ने वा नपर्ने विषयमा मतभेद देखिएको हो । नेकपा एसभित्र देखिएको मतभेद सडकमा पनि पुगेको छ। अध्यक्ष नेपालले बालुवाटारमा भएको बैठकमा टेबलगर्न दिन सहमति गरेपनि भ्रातृ संगठनका नेताहरुको अगुवाइमा नयाँ बानेश्वरमा प्रदर्शन भयो नेकपा एसको जनवर्गीय संगठनहरुले पनि आइतबार सम्झौताको विरोध देशव्यापी प्रदर्शन गरेका थिए ।

एमसीसी संसदमा टेबलगर्नुपर्नेमा पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरुको जोड रहेको छ भने खनालसहितका नेताहरु सर्त पुरा नहुँदा टेबलगर्न नहुने पक्षमा रहेका छन् । दुवैको बीचमा अध्यक्ष नेपाल रहेका नेताहरुले बताएका छन् । शनिबार स्थायी कमिटीको बैठकपछि जानकारी दिन महासचिव र प्रवक्ताले छुट्टाछुट्टै विज्ञप्तिमा आएको थियो । कतिपयले त्यसलाई पार्टीभित्रको मतभेदको संकेतको रुपमा व्याख्या गरेका थिए । नेकपा एसले खनालको नेतृत्वमा सम्झौताको विषयमा अध्ययन गर्न खनालको नेतृत्वमा ४ सदस्यीय कार्यदलले पनि परिमार्जन बिना एमसीसी पारित गर्न नहुने सुझाव दिएको थियो । जसमा उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिवद्वय डा विजय पौडेल र जगन्नाथ खतिवडा सदस्य रहेका थिए ।कार्यदलको तर्फबाट शनिबार स्थायी कमिटीको बैठकमा नेता खनालले परिमार्जन बिना पारित गर्न नहुने बताएका थिए ।