काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राजनीतिभन्दा माथि उठेको अभिभावक नबनेर एउटा दलभित्र एउटा गुट र व्यक्तिको पक्षपोषणमा लागेको आरोप लगाएका छन् । नयाँ पार्टी घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूहरूले परिकल्पना गरेको राष्ट्रियता र एकताको प्रतीकको रूपमा संविधानभित्र रहने सेरेमोनियल राजसंस्थाको मान्यतामाथि आघात पुगेको बताएका हुन् ।
थापाले भने, ‘एकता महाधिवेशनमा अध्यक्ष पदमा हार्यौँ । हामीले स्वीकार गर्यौँ । नवनिर्वाचित अध्यक्षलाई मैलै शुभकामना दिएँ, मैले यति मात्र अनुरोध गरेँ, तपाईंकौ वैधतामाथि मेरो कुनै प्रश्न छैन । तर राप्रपाको आन्तरिक मामिला जुन संस्थाप्रति हामी आस्था राख्छौँ त्यसको हस्तक्षेप भएको छ । त्यसका कारण पार्टीले यो विषयको निराकरण गर्नुपर्छ भनेर अनुनय विनय गरे । दुई पटक लिखित रूपमा नै आग्रह गरेँ । तर त्यसलाई नजरअन्दाजलाई गरियो, रद्दीको टोकरीमा काम गरियो ।’
थापाले एकपक्षीय ढंगबाट पार्टी सञ्चालन गर्ने काम भएको पनि आरोप लगाए । त्यस्तै, आफूहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउने र पार्टीबाट धकेलेर पर पुर्याउने परिस्थितिको निर्माण गरिएको पनि उनले गुनासो गरे । थापाले राप्रपा सैद्धान्तिक रूपमा विचलित भएको पनि आरोप लगाए ।

