काठमाडौं । हाल नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध भइरहँदा सत्तारुढ दल नेपाली काँग्रेसले यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने बताएको छ।
सत्ता गठबन्धनकै दलहरुले एमसीसीको विरोध गरिरहेको अवस्थामा एमसीसी अगाडि बढ्न सकेको छैन। यसबीचमा अमेरिकाले एमसीसी बिना सर्त स्वीकार गर्नुपर्ने नभए आफूले उक्त सहयोग फिर्ता लैजाने बताइरहेको छ।
अमेरिकाले एमसीसी नेपालले स्वीकार गरोस् भन्ने चाहन्छ। यस विषयमा चीनले शुक्रबार औपचारिक धारणा सार्वजनिक गर्दै भनेको छः ‘अमेरिकाले नेपाललाई एमसीसी स्वीकार गर्न दबाब दिएको छ। यस्तो कूटनीतिक जबर्जस्तीको हामी विरोध गर्दछौं।’
शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने,‘नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई चीनले सँधै स्वागत गर्छ, तर यो राजनीतिक सर्तविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ।’
‘नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न र आफ्नो देशको हित र जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न जारी राख्नेछ’ वाङ थप भन्छन्,‘नेपालको विकासमा सहयोग गर्न हामी सँधै तयार छौं।’

वाङ वेनबिन

