काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित छ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै गरिएको बन्दको उपत्यकासहित देशका सबै प्रदेशमा बिहानैदेखि आंशिक प्रभाव परेको छ ।
ललितपुरमा बिहानै बन्द गर्न भन्दै सडकमा पुगेका विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा टायर बालेर प्रर्दशन गर्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
उता,लुम्बिनी प्रदेशमा पनि बन्दको बिहानैदेखि प्रभाव परेको बुझिएको छ । मुख्य शहरहरु रुपन्देहीको बुटवल,भैरहवा,दाङको भालुवाङ, लमही,घोराही,बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको बताइएको हो ।
बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै शहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधवारका लागि मंगलवार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।
महोत्तरीमा बन्दको प्रभाव नपरेको समाचार एजेन्सी न्यूज कारखानाले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । स्थानीय प्रशासनले सुरक्षाा व्यवस्था कडा पारेपनि शैक्षिक संस्था भने बन्द छन् ।

