काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताउनु भएको छ ।
आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी संघ–संस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने बताउनुभएको हो ।
विदेशी सहयोग लिँदै लिन्नँ भनेर बढी क्रान्तिकारी हुनु पनि नहुने उहाँको भनाई थियो । अध्यक्ष तिमिल्सिनाले सहयोगको बहानामा हस्तक्षेप गर्ने र नेपालीलाई आफैँले चलाउने प्रकारको सहयोग भने लिनु नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयकहरू प्रतिनिधि सभामा वर्षाैँदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभामा विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधि सभालाई घचघचाउनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष तिमिल्सिनाले आउँदो एक वर्ष चुनावी वर्ष हुने भएकाले प्रतिनिधि सभाले विधेयक पारित गर्न नसक्ने हो कि भन्ने आशङ्का समेत व्यक्त गर्नुभयो ।००००

