काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
आज बालुवाटारमा केही मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको जानकारी गराउनु भएको हो । हाल कांग्रेसको भागमा रहेका दुई मन्त्रालय रिक्त रहेको छ । महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले राजीनामा दिएको रक्षा मन्त्रालय मन्त्रीविहीन छ ।
त्यस्तै, नियुक्तिमै विवादित बनेपछि गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रिक्त रहेको छ । रिक्त रहेको २ मन्त्रालयमध्ये एकमा नेता प्रकाशमान सिंहनिकटलाई नियुक्त गर्ने देउवाको तयारी रहेको बताइएको छ । सिंहपक्षबाट सुजाता कोइराला र राजन केसीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ ।
गत महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो निर्वाचनमा सिंह प्यानलले देउवालाई सघाएको थियो । सीमित मन्त्रीहरुसँगको छलफलमा देउवाले कांग्रेसको केन्द्रीय समितिलाई पूर्णता दिनेबारेमा पनि छलफल गर्नुभएको बताईको छ ।
यस्तै, मन्त्रिपरिषदलाई पुर्णता दिनेबारे प्रधानमन्त्री देउवाले सत्तागठबन्धनका शीर्ष नेताहरूसँग पनि छलफल गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको हो । छलफलमा देउवाले २ दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनु भएको थियो ।
हाल मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री रहेका छन् ।००००

