काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ। यस समबन्धमा आयोगले विद्युतीय मेसिनको प्रयोग र सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ।
आज बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल थालेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
आयोगले परामर्श लिन सरकारका आइटी विज्ञहरूलाई बोलाएर सामान्य छलफल थालेको जनाएको छ। प्रवक्ता शर्माका अनुसार ‘सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो। निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागि हालेको भन्ने होइन,’ प्रवक्ता पौडेलले भने, ‘नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको हो।’

