काठमाण्डौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रीपरिषद विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज ८ जनालाई नयाँमन्त्रीमा नियुक्त गर्दै १४ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।

मुख्यमन्त्री राईले कांग्रेसबाट मोरङका शेखरचन्द्र थापालाई वन, वातावरण तथा भूसंरक्षण, झापाका ओमप्रकाश सरावगीलाई उद्योग, श्रम तथा रोजगार र ताप्लेजुङका प्रताप प्रकाश हाङ्गामलाई भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चार, खोटाङका राजन राई सामाजिक विकास र इलामकी खिनु लङ्वा लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बन्नु भएको छ ।

माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई सिँचाई, खानेपानी तथा उर्जा मन्त्री र झापाका झलकबहादुर मगर कृषिमन्त्री बन्नु भएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि प्रदेश नं. १ मा कांग्रेसबाट ५, नेकपा एकीकृत समाजवादीबाट ४, माओवादीबाट ३, जसपाबाट १ मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना राज्यमन्त्री बनेका छन् ।