काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले शनिबार प्रकाशित गरेको सूचना अनुसार आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ। निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ।

मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ। 

दरखास्त दिन चाहने इलुस्ट्रेसनको ट्याबलेट पेन र सम्बद्ध सफ्टवेयरमा पनि दक्ष हुनु पर्नेछ। नेपाली टाइप र मुद्रण प्रणालीबारे पनि जानकार हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ। 

निर्वाचन आयोगले सरकारलाई निर्वाचन मिति प्रस्ताव गरिसकेको छ। तर, सरकारले भने अझै निर्वाचनको मिति तोकेको छैन।

केहीदिन अघि निर्वाचनका आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा जेठ ४ गते स्थानीय निर्वाचन गर्नेगरी त्यारी गर्न आयोगलाई भनेका थिए। 

सरकारले निर्वाचनको मिति घोषणा नगरेपनि आयोगले भने आफ्ना तर्फबाट काम अघि बढाएको छ।