काठमाडौं । हिजोदेखिको सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ ।

वर्षाको कारण देशभरको जनजिवन प्रभावित भएको छ । आज तराई र पहाडमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि नेपाल प्रवेश गरेको हो । भोली यस प्रणाली पूर्वी नेपालतर्फ सर्दै जाने अनुमान छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान छ ।

वर्षासँगै चिसिएको मौसमले काठमाण्डौ उपत्यकाका उच्च डाँडाहरुसहित देशभरका अधिकांश उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी, शिवपुरीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डोटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रतिकूल मौसमका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हवाई सेवा प्रभावित भएको छ ।

काठमाडौं आउने रुटमा मौसमका कारण समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालयले जनाएको छ ।सडकमा बाक्लो हिउँ जमेका कारण विभिन्न लोकमार्गमा गाडी समेत चल्न सकेका छैनन् ।