काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठमा एकै चरणमा स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गर्नुभएको छ । 

निर्वाचन आयोगका पदाधिकारीसँग मंगलवार भएको छलफलमा उहाँले ४ जेठमा निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको हो । 

चुनावको मिति तोक्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बालुवाटार बोलाउनुभएको हो । 

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। 

अब बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तोक्ने सम्भावना बढेको छ । छलफलमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराउनुभएको थियो । 

छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राख्नुभएको थियो । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराउनुभएको हो ।