काठमाण्डौं । सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमति प्रति प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सकारात्मक प्रतिक्रिया दिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताउनु भएको हो ।
उहाँले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास भने असफल बताउनुभयो । निर्वाचन आयोगको निरन्तरको ताकेता, एमाले पार्टीलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण, राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणको कारण गठबन्धन चुनावको घोषणा गर्न बाध्य भएको उहाँको भनाई छ । उपमहासचिव ज्ञवालीले चुनाव गराउन आवश्यक पर्ने कानुनी तथा प्रशासकीय व्यवस्थापनमा सघाउन एमालेको सकारात्मक भूमिका रहने समेत बताउनुभयो ।

आज बसेको सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठकले आगामी जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको हो । अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।००००