काठमाडौंः कानुनविद्ले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।

कानुनविद् टीकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरेका हुन् ।

एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तराष्ट्रिय मान्यता रहेको पनि स्मरण गराए । उनले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पारे ।

‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्यो । त्यसको सुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तराष्ट्रिय मान्यता पनि छ । इन्डियामा पनि लोकसभाको निर्वाचन नौ चरणमा भएको थियो । तर, त्यसको कार्यकाल पहिलो चरणको निर्वाचनलाई आधार मानेर बनाइएको थियो,’ उनले भने ।

नेपाल बार एशोशिएशनका पूर्वमहासचिव पोखरेलले ५ जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताए । उनले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ । त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन । त्यसैले संविधानले किटान गरेको पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ । यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ,’ उनले भने ।

महासचिव पोखरेलले दलले संविधान र कानुनविपरीत भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताए ।