काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऐन संशोधन नगरि तत्काल स्थानीय निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ ।

आज बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको हो । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न दबाब दिएको छ । तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।

गठबन्धन दलहरुबीच २०७९ साल फागुनभित्र तीनै तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको थियो ।तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिनु भएको थियो । आजको सत्ता गठबन्धनको बैठकले कुनै सहमति जुटाउन नसकेपछि आजै अपरान्ह ४ बजे पुनः बैठक बस्ने भएको छ । आजकानून व्यवसायीहरुसँग परामर्श गरेर गठबन्धनको बैठक पुनः बस्न लागेको हो ।