काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्र  र एकीकृत समाजवादीलाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।

‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए ।

स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतको भनाइ छ । उनले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाए ।